
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार बनाउनेतर्फ आफ्नो ध्यान नभएको बताएका छन् । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले आफ्नो पार्टीको ध्यान जनतामा जाने भएको पनि बताए । साथै, उनले छिट्टै मध्यपहाडी लोकमार्ग अभियान गइरहेको पनि बताएका छन । उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ, ‘हामी मध्यपहाडी लोकमार्ग अभियान हामी जाँदैछौं । जादु चलाउन चाहे त चल्छ तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’
उनले आफू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने प्रयासमा पनि नभएको पनि बताएका छन । उनले भने, ‘हामी देउवाजी कसैलाई पनि फकाउने पक्षमा छैनौं । आफ्नै बोझले यो सरकार ढल्छ, जनताको मनबाट त यो ढलिसकेको छ ।’ साथै, उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी भएको टिप्पणी गरेका छन ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी समेत गरेका छन ।
उनले सरकारले जनभावना र राष्ट्रको आवश्यकताअनुरुपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउँदै उनले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकतालाई प्राथमिकतामा राखेर नीति तथा तथा कार्यक्रममाथि धारणा राखेको दाबी गरे ।
प्रचण्डले भने, ‘गतवर्षको नीति तथा कार्यक्रम कपिपेस्ट गर्नुपनि झारा टार्नु नै हो । किनभने यो एकवर्षको अवधिमा धेरै नै विकास भइसकेको छ । नयाँ सिर्जनात्मक, रचनात्मक र जनता र राष्ट्र पक्षमा केही पनि कुरा छैन ।’