४० वर्षकी तिलमाया कक्षा ८ मा भर्ना

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १३:२४ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४० वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन । उनी वडा नम्बर ६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन ।

तिलमाया कक्षा ८ मा भर्ना भएपछि गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विद्यालयमै पुगेर उनलाई स्वागत गरेका छन् । सात कक्षामा पढ्दा पढ्दै विवाह भएपछि उनको पढाई स्थगित भएको थियो ।

त्यसपछि उनले लामो समय पढ्न पाएकी थिइनन् । पढ्ने रहर हुँदाहुँदै पनि पारिवारिक जिम्मेवारीका कारणले उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेकी थिइनन् । अहिले आएर उनी ४० वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएकी हुन् ।

उनका दुई छोराहरू स्नातक तहको अध्ययन गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक भीमलाल प्रजाले पढ्न मन लागेपछि उमेर नछेक्ने भन्ने उदाहरणको रूपमा उनी रहेको बताए । पढ्न मन लाग्यो मलाई भर्ना गरिदिनुहोस् भनेर आएपछि आफूले भर्ना गरिदिएको प्रधानाध्यापक प्रजाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us