रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट 

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको खुलेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको प्रष्ट रुपमा देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ ।

तीन जनाले एक व्यक्तिलाई लडाएर समाउँछन् भने अर्का एक व्यक्तिले पैतलामा लट्ठीले कुटपिट गरेको देखिन्छ । ४१ सेकेन्ड लामो भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।

उक्त भिडिओ गौरमा एक व्यक्तिले सञ्चालन गरेको सुधार केन्द्र रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन ।

उनले भने, ‘भिडिओ हाम्रो जानकारीमा आएसँगै यसबारे अनुसन्धान अघि बढाएका छौं ।’ रायका अनुसार यसका सञ्चालकलाई समेत बोलाएर अनुसन्धान सुरु गरिएको छ ।

यो सुधार केन्द्रका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाबारे अनुसन्धान अघि बढाइएको उनले जानकारी दिएका छन । अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us