
काठमाण्डू, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुको विदेश भ्रमणबारे संसदीय समितिहरुलाई जानकारी हुनपर्ने बताएका छन ।
साथै अध्यक्ष नेपाले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन ।
आज (आइतबार) प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले भने, ‘हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी गराउने कुरा अनिवार्य गराउनुपर्छ ।
यसको आवश्यकता उहाँहरूलाई पनि बोध गराउनुपर्छ ।’ विश्व समुदायमा भइरहेका कतिपय घटनाहरूमा नेपाल समेत नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण समेत गराएका छन । उनले भने, ‘मन्त्रीज्यूहरूको वैदेशिक भ्रमण भइरहेको छ ।
तर यो समितिमा त्यसको बारेमा कुनैपनि जानकारी छैन । यस कुरामा समिति र समिति सभापतिज्युको ध्यान जानुपर्ने आवश्यकता छ ।’