
ev nepal काठमाण्डू, २० वैशाख– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीसँग जनताको समर्थन पर्याप्त रहेको दाबी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको प्रभाव देशभर फैलिएको भन्दै आशावादी रहन कार्यकर्तालाई आग्रह गरे । ‘हामीसँग जनमतको कमी छैन’, उनले भने, ‘अहिले पनि म देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई समर्थन गर्ने जनताको अभाव महसुस गरेको छैन ।’
२०७९ सालको आमनिर्वाचनमा आदिवासी जनजाति तथा सहकारी र सामाजिक क्षेत्रमा सक्रिय मतदातासँग प्रभावकारी रूपमा पुग्न नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले हालै आफू कर्णाली प्रदेशको कालीकोट र हुम्लाजस्ता विकट स्थानसम्म पुगेको भन्दै त्यहाँका पार्टी अधिवेशनमा हजारौं जनताको सहभागिता देखेको सुनाए । ‘त्यसले पार्टीप्रति जनआस्था अझै बलियो छ भन्ने पुष्टि गर्छ’,उनले भने ।
उनले रौतहट, सप्तरीलगायत तराईका जिल्लामा पनि पार्टीका कार्यक्रमहरूमा उल्लेख्य उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले सबै भेगमा सशक्त उपस्थिति बनाइरहेको बताए ।
ू
अध्यक्ष नेपालले पार्टी कार्यकर्ताहरूलाई संगठनलाई अझ सुदृढ बनाउनेतर्फ लाग्न आग्रह गरे । पार्टीलाई अरू पार्टीभन्दा शक्तिशाली बनाउनु नेता कार्यकर्ताको जिम्मेवारी भएको उनले उल्लेख गरे ।