
काठमाण्डू, २० वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीको जनआधार उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रप्रति आम जनतामा भरोसा पुनःस्थापित हुँदै गएको बताए ।
उनले सामाजिक सञ्जालमा समेत माओवादीको उपस्थिति बलियो हुँदै गएको उल्लेख गरे । ‘कुनै बेला सामाजिक सञ्जालमा हाम्रो उपस्थिति कमजोर थियो’, प्रचण्डले भने, ‘तर अहिले हेर्दा पार्टीको सक्रियता र समर्थन दुबै बढिरहेको छ ।’
माओवादी केन्द्रले देशभर जनसम्पर्क बढाएको र त्यसले प्रत्यक्ष रूपमा पार्टीप्रतिको आकर्षणमा वृद्धि गरेको दाबी उनको छ । यो उत्साहजनक संकेतले २०८४ को आमनिर्वाचनमा पार्टी पहिलो हुने दाबी गरे ।
उनले अहिलेको तयारी र अभियानहरूलाई समाजवादी परिवर्तनको आधार निर्माणका रूपमा व्याख्या गर्दै आफू दिनरात त्यसैका लागि क्रियाशील रहेको बताए । ‘यसपालि जसरी भए पनि अगाडि जानुछ भन्ने संकल्पका साथ बढेको छु’, उनले भने ।
प्रचण्डले पार्टी अब कुनै पनि पुराना शक्तिहरूसँग गठबन्धन नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने योजना बनाएको बताए । ‘अब कांग्रेस वा एमालेसँग मिलेर होइन, माओवादी आफैं चुनावी मैदानमा उत्रनेछ’, उनले भने ।
तराई–मधेस क्षेत्रमा सञ्चालित हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानमार्फत लाखौं नागरिकसँग प्रत्यक्ष सम्पर्क गरिएको उल्लेख गर्दै उनले यही अभियानले पार्टीको लोकसप्रयता अझ फराकिलो बनाएको बताए ।
उनका अनुसार त्यस क्रममा करिब एक करोड जनतासँग प्रत्यक्ष संवाद भएको छ ।