
काठमाण्डू, १९ वैशाख– सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ परेकी सत्तारुढ कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासले शुक्रबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपीलराज बोहराले अनुसन्धान नसकिएकाले राईलाई म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको बताए । लामो समयदेखि फरार सूचीमा रहेको सांसद राईलाई प्रहरीले वैशाख १३ गते कपनस्थित घरबाट पक्राउ गरिएको थियो । उनमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । राई उक्त सहकारीको सञ्चालक समिति सचिव थिइन् । अनुसन्धानका क्रममा राई र उनको समूहले ६ सय ९० बढी बचतकर्ताका अर्बौं रुपैयाँ अपचलन गरेको देखिएको प्रहरीले जनाएको छ ।