
काठमाण्डू, १९ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षका लागि शुक्रबार सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परागत र निरश रहेको टिप्पणी गरेको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका सो पार्टीका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रमलाई दिशाहीनको संज्ञा दिए । ‘न त स्पष्ट छ, न त भविष्यदर्शी—बरु निरस, परम्परागत र दिशाविहीन छ’, संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले
विगतमा संसद्मा नीति तथा कार्यक्रम स्पष्टसँग राख्ने, प्रमुख योजनाहरूलाई प्रस्तुत गर्ने र त्यसपछि बजेटमा समेट्ने प्रक्रिया अपनाउने गरेकामा यसपटक सरकारले अपारदर्शीता प्रदर्शन गरेको आरोप लगाए ।
संसद्को औपचारिक प्रक्रिया छलेर सरकार आफ्नो अनुकूल नीति निर्माण र बजेट निर्माणको बाटोमा अघि बढेको पुनको भनाइ थियो ।
पुनले बजेटसमेत नीति कार्यक्रमकै शैलीमा, निरश र अमूर्त रूपमा आउने आशंका व्यक्त गरे ।
नीति तथा कार्यक्रममा आर्थिक सुधार, पूर्वाधार विकास र शिक्षामा आवश्यक परिवर्तनबारे उल्लेख नगरेकोप्रति पुनले आपत्ति जनाए । शिक्षक आन्दोलन रोकिए पनि शिक्षा क्षेत्रको सुधारबारे कुनै ठोस योजना नआएको बताए । पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले अघि सारेका दुरगामी महत्वका राम्रा कार्यक्रम हटाइएकोमा उनले आपत्ति प्रकट गरे ।