अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैनः हितेन्द्रदेव शाक्य

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत् प्राधिकरणमा पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरेको छ ।

पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको दाबी गरेका छन । वडाका हिसावले ९५ प्रतिशत विद्युत पहुँच पुगेको पनि उनको दाबी छ । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ ।

यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ । माग र आपूर्तिको असन्तुलन वर्षा यामको विद्युत् खेर गएको छ भने सुख्खायाममा विद्युत्को माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताएका छन । उनले भने, ‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ ।

प्राधिकरणको प्रक्षेपण अनुसार ०८२–८३ मा वर्षा याममा २६४८ मेगावाट , ०८३–८४ मा ३३१६ मेगावाट विद्युत् जगेडा रहनेछ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘यो निर्यात हुनुपर्ने देखिएको छ । तर त्यही समयमा ०८२–८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३–८४ मा ७२८ मेगावाट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’

शाक्यले आगामी दिनमा विद्युत आयात शून्य नहुने पनि बताएका हुन । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनको भनाइ थियो ।

शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्छ । यससँगै विद्युत् खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्‍याउन सबै प्रयास गर्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us