
काठमाण्डू, १७ वैशाख– प्रहरीले काठमाण्डूको टोखा नगरपालिका–७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डूको टोखा नगरपालिका–७ बस्ने अंकित भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी हत्या गरेका हुन् ।
कुकुरलाई कुटेर हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुकुरलाई निर्ममता पूर्वक हत्या गरेको जानकारी स्थानीयले गराउनेबित्तिकै प्रहरी घटना स्थलमा पुगेर भुजेललाई नियन्त्रणमा लिएको काठमाण्डू महानगरीय प्रहरी वृत्त महारजगञ्जका प्र.ना.उ निरञ्जन थापाले जानकारी दिएका छन ।
उनीले भने, ‘कुकुरलाई क्रुरतापूर्वक किन हत्या गरियो भनेर थप अनुसान्धन जारी रहेको छ ।’ पशु बोल्न सक्दैन वा उसका लागि बोलिदिने कोही छैन भनी जथाभावी पशुको हत्याहिंसा हुने गरेको पशु अधिकारकर्मी विश्वराम कार्कीले बताए ।
पशुप्राणीमाथि हत्या–हिंसा गर्नेलाई कानुन भए पनि कडाइका साथ कारबाही नगरिँदा यस्तो कृत्य बढिरहेको उनको भनाइ छ ।