
काठमाण्डू, ११ वैशाख– एकता प्रक्रियाको दिशा तय गर्दै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकै दलमा रूपान्तरण हुने भएका छन् ।
दुवै दलबीच लामो समयदेखि चल्दै आएको संवाद र तयारीले अन्ततः वैशाख २७ गते ‘नागरिक जनमत पार्टी’ घोषणा गर्ने निष्कर्ष निकालेको छ ।
जनमत अध्यक्ष डा सिके राउतको सचिवालयले दिएको जानकारीअनुसार, एकीकृत पार्टीको नेतृत्व संरचना पनि तय भइसकेको छ । नयाँ दलमा अध्यक्ष राउत स्वयं रहनेछन् भने नाउपाका संरक्षक रेशम चौधरी संरक्षककै भूमिकामा रहनेछन् । पार्टीकी सह–अध्यक्षको जिम्मेवारी रञ्जिता श्रेष्ठलाई दिइएको छ । जसमा उनको वरीयता तेस्रो स्थानमा रहने बताइएको छ ।
पार्टी एकतापछि प्रयोग हुने ढकिया चिन्ह र कलेजी रङको पृष्ठभूमिमा सेतो ढकिया रहेको झन्डा पनि पहिले नै तय भइसकेका छन् । एकीकृत केन्द्रीय समिति ७ सय सदस्यीय हुने र त्यसको समावेशी संरचनामा दलले जोड दिने जनाएको छ ।
अध्यक्ष राउतले भनेका छन्, ‘एकता प्रक्रियालाई अवरुद्ध गर्न विभिन्न तत्वहरू लागिपरे, कहिले प्रचारको माध्यमबाट, कहिले धन, गाडी, साधन प्रयोग गरेर पार्टीमा फूट ल्याउन खोजियो । यहाँसम्म कि हामीमाथि ज्यान मार्ने र झूठा मुद्दामा फसाउने धम्की समेत दिइयो ।’
उनले एकताको प्रक्रियालाई ‘जनताको पक्षमा उभिएको आन्दोलनकारी शक्तिहरूको ऐतिहासिक मिलन’ भन्दै यसले नेपाली राजनीतिमा नयाँ मोड ल्याउने विश्वास व्यक्त गरेका छन् ।
‘धेरै दल र शक्तिहरू अहिले आत्तिएका छन्’, राउतले भनेका छन्, ‘जनस्तरबाट उठेको, परिवर्तनको पक्षमा अडिएको, नयाँ सोच र उद्देश्य बोकेको राजनीतिक शक्ति देशमा उदाउने छ ।’
यो एकतालाई मधेस केन्द्रित मात्र नभई, राष्ट्रिय राजनीतिक पुनःसंरचनाको संकेतका रूपमा हेरिएको छ । पार्टी नेतृत्वले एकीकृत संगठनलाई आन्दोलन, अधिकार र विकासका एजेन्डामा अघि बढाउने अठोट लिएको जनाएको छ ।