
काठमाण्डू, ९ वैशाख– प्रधानमन्त्री केपी ओलीले आफू अझै बुढो नभएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले आफू अब २५ वर्षपछि मात्र बुढो हुने दाबी गरे । यस्तै उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त नगर्न पनि भने । उनले आफ्नो स्वास्थ्य राम्रो रहेको उल्लेख गरे ।
ओलीको यो भनाइ पूर्वराष्ट्रपति विद्या भण्डारीतर्फ लक्षित छ । नेपाल खबर डटकमलाई केही समयअघि दिएको अन्तर्वार्तामा भण्ठडारीले ओली बुढो भएको र स्वास्थ्य अवस्था पनि कमजोर रहेकाले पार्टी नेतृत्व छाड्नुपर्ने बताएकी थिइन् ।
एमाले पूर्वउपाध्य समेत रहेकी भण्डारी पार्टी राजनीतिमा फर्कने तयारीमा छिन् ।
ओलीले आफूबिनाको एमालेको कल्पना नगर्न चेतावनी दिँदै कसैले हतारो गर्दैमा पार्टी नेतृत्व आफूले नछाड्ने स्पष्ट गरे ।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन’, उनले भने, ‘मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’
ओलीले एमालेलाई मिशन ८४ मार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने दाबी गरे ।