यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १२:३० मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन  । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा झुण्डेको अवस्थामा मंगलबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो साढे ३ बजेतिर घरमा झुण्डेको अवस्थामा मृत फेला परेको भन्ने जानकारीपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पतारका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिएका छन । आनन्दी यौन दुर्व्यवहार घटना पीडित थिइन् ।

आमा बिल्टौन देवी सदायका अनुसार पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेको बेला गाउँकै दुई युवकले यौन दुर्व्यवहार गरेका थिए । स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालर यौन प्रस्ताव राखेका थिए ।

तर, आनन्दीले अस्वीकार गर्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गर्दा भागेर गुहार मागेकी थिइन् ।

आमा बिल्टौनका अनुसार न्यायको लागि इलाका प्रहरी तारमा उजुरी दिन गएकी थिइन् । तर, प्रहरीले अनुसन्धानको नाममा दुई महिनासम्म आलटाल गरे । आरोपीहरु खुलेआम घुमिरहे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us