
काठमाण्डू, २९ चैत– गृहमन्त्री रमेश लेखकले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन ।
आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो ब्याख्या गरेका हुन । उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’ राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो ।
सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो । संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए ।
तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने प्रतिक्रिया दिएका हुन । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईंलाई आज भारतबाट झापा हुँदै काठमाण्डू ल्याइएको छ ।