अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछः परराष्ट्रमन्त्री देउवा

काठमाण्डु टुडे २०८१ चैत २७ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, २८ चैत– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन । परराष्ट्रमन्त्री राणाले भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि बताएकी छन ।

आज (बिहिबार) नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन । उनले भनिन्, ‘वैदेशिक अनुदान र ऋणहरु पहिलाभन्दा कम हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हाम्रो वैदेशिक सहायताको स्थिति पहिला भन्दा कम छ ।’

तर, यो नराम्रो कुरा नभएको भन्दै उनले केही तथ्यांक प्रस्तुत गरिन् । उनले भनिन्, ‘२०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो ।

यसको अर्थ, नेपालले आफ्नो राजस्व संकलन बढाएर लगेको देखिन्छ ।’ उनले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको पनि बताएकी छन । उनले सबै नेपालीमा रहेको आर्थिक विकास र प्रगतिको आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने पनि बताएकी छन ।

उनले भनिन्, ‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाक्षी छौं । ती आकांक्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ’ उनले भनिन्, ‘विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ । द्रूत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नुछ ।’

उनले विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको पनि बताएकी छन । उनले पूँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको बताइन् ।

सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उल्लेख गर्दै उनले भनिन्, ‘राजनीतिक स्थायित्व नहुँदा विगतमा समस्या देखिएका थिए, अब हट्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us