
काठमाण्डू, २४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रसमेतको सहमतिमा देशमा गणतन्त्र ल्याएको बताएका छन । माओवादी पछि मात्रै आफूहरुसँग मिसिएको उनले बताए ।
आज (आइतबार) पार्टी मुख्यालय आलोकनगरमा एकीकृत समाजवादी निकट आदिवासी जनजाति महासंघको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
उनले भने, ‘ज्ञानेन्द्रले (राजतन्त्र) उहिले छोडिसकेको हो । हामी तीनजना नेता (आफू, राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइराला) ले यो जम्मै कुराहरु गरेका हौं । प्रचण्डजी पछि मात्रै आएका हुन् ।
हामी तीनजनाले पहिल्यै सहमति गरिसकेका थियौं ।’ नेपालले अहिले राजा फर्काउने कुरा नभएको र पूर्वराजाको पनि इच्छा नभएको आफूले सुनेको भन्दै खुशी व्यक्त गरे ।
उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । त्यो उनको पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने‘ मलाई थाहा छैन‘।उनले राजालाई फर्काउने कुरा छैन, राजाको इच्छा पनि छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ ।
अरुले पो फाइदा उठाउन खोजेका रहेछन् ।’ हालै एक अन्तरवार्तामा पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले ‘राजाले यो व्यवस्था उल्टाउने नभनेको’ बताएका थिए ।