राहतका नाममा बाढीपीडितलाई थोत्रा–थाङ्ना

काठमाण्डु टुडे २०७१ भदौ १९ गते १:३७ मा प्रकाशित

दाङ,भदौ १९–आफ्नै वस्तीमा मंगलबार राहतको बोरा आइपुगेको सुन्नासाथ दाङ डुरुवाकी मनकली चौधरी फुरुङ्ग हुँदै हतारहतार मोतिपुर पुगिन् ।
बोराभरि लुगा रहेछ । मनकलीले जब बोरा खोलिन्, उनको मन भित्रैदेखि कुँडिएर आयो । मानवीय रुपमा सहयोगी देखिन खोज्नेले नै बाढीपीडितलाई केविधि हेपेका १
राहत सहयोगका नाममा दिइएका बोराभरिका कपडा थोत्रा–थाङ्ना पो रहेछन् । डुङडुङ्ती गन्हाउने, फाटेका लाउनै नमिल्ने । केलाउँदा–केलाउँदा मनकली दिक्क भइन्, काम लाग्ने एउटै कपडा भेटिएन ।
‘सब्बै पुराना रैछन्, छान्दाछान्दा लाउन मिल्ने एउटै भेटिएन’ मनकलीले दुखेसो पोखिन् ।
तीन साताअघिको भीषण वर्षासँगै आएको बाढीपहिरोले सर्वस्व हरेर घर न घाट बनाइएकाहरुलाई देखेर वा सम्झेर ‘कठै, भोकभोकै, नांगेझार र बेघरबास ’ भनी दुःख प्रकट गर्ने धेरै छन् । मानवीय भावले धेरै तत्कालै केही दिउँकी भनेर अघि सरेका पनि छन् ।
बाढीपहिरोको कहरमा ज्यान जोगाउन सकेकालाई राहत दिन देश–विदेशका संघसंस्था र व्यक्तिगत पहल जारी नै छ । सरकारी सहयोग न्यून भए पनि एकहदमा गैरसरकारी र व्यक्तिगत हैसियतमा राहतको ओइरो नै छ, तर राहतका नाममा कतिपयले अमानवीय प्रवृत्ति देखाउँदा भने मनकलीजस्ता कैयन बाढीपीडितको मन भाँचिएको छ ।
स्थानीयका अनुसार धेरैजसो संघसंस्थाले बाँडेका राहतमध्ये सबैभन्दा बढी लगाउनै नमिल्ने लत्ताकपडा छन् । पुराना, त्यसमा पनि अत्यन्त फोहोर । अनेक रोग लाग्ने त्रासले स्थानीय यस्ता कपडा लगाउन डराउँछन् । ‘बोरामा बाँधेर ल्याएका हुन्छन्’, उरहरी–६ मोतीपुरका बाढीपीडित जागुराम चौधरीले भने,‘खोलेर हेर्दा असाध्यै पूराना लुगा भेटिन्छन् ।’
बाढीमा जायजेथा सबै गुमाएका कतिपय पीडितले तिनै पूराना पोसाक पनि लगाउने गरेका छन् । लगाउनै नमिल्नेजति मात्र फाल्छन् । ‘पुराना कपडामा छानेर लगाउन मिल्ने खालका लगाइरहेका छौं’ जागुराम भन्छन्,‘तर धेरैजसो अत्यन्तै फोहर, लगाउँदा रोग सर्ला भनेर फालिदियौं। ’
स्थानीयका अनुसार राहत भनेर बाँडिएका खाद्यान्नबाहेक अन्य सामग्री उपभोग गर्नै नमिल्ने किसिमका छन् । ‘घीन मानेर के गर्नू ?,’ जागुराम खिन्नता पोख्छन्, ‘नयाँ किन्न सकिन्न, दिनेले पुराना मात्रै दिँदा रहेछन्।’
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us