प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उतारिने छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १८:५१ मा प्रकाशित

बुटवल, २८ फागुन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।

मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन ।

अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताए ।

अहिलेको राजनीतिक परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उहाले स्पष्ट गरे ।

त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौमा सडकमा उत्रने बताए ।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए ।

‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ । यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’, प्रचण्डले भने, ‘अहिले आएर संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’

प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको बताए । ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us