कर्णालीमा कांग्रेस सांसदको मागः हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– कर्णाली प्रदेशमा पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ ।

एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका छन ।

आज (बुधबार) बसेको प्रदेश सभा बैठकमा आक्रोशित हुँदै विसीले भने, ‘म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते नै भइरहने हो भने सरकारलाई दिएको समर्थन यथावत् राखेर सरकारमा गएका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ ।’उक्त विषयमा गम्भीर रूपमा सोच्न उनले दल नेता जीवनबहादुर शाहीलाई आग्रह समेत गरेका छन ।

साथै सरकारबाट धेरै कामहरू रोकिएको भन्दै उनी आक्रोशित भए । उनले कँडेल नेतृत्वको सरकारले जनताको आशामाथि तुसारापात गरिरहेको आरोप लगाए । सत्तारुढ दलले नै सरकारमाथि प्रश्न उठाउने अवस्था आएको भन्दै विसीले यसअघि सरकारसँग गरेका सम्झौताहरू कुनै कार्यान्वयन नभएको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us