काठमाण्डू, २८ फागुन– काठमाण्डूमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
सोही नगरपालिका–७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा–प्र. ०३–००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।