
काठमाण्डु, १८ भदौ- भारतसँग गर्ने भनिएको विद्युत व्यापार सम्झौता ‘पीटीए’ बारे औपचारिक वार्ता गर्न नेपाली टोली आज नयाँदिल्ली जाने भएको छ ।
ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको आठ सदस्यीय टोली दिल्ली जान लागेको हो । मन्त्रिपरिषदको मंगलबारको बैठकले पिटीएबारे वार्ता गर्ने अख्तियारीसहित क्षेत्री नेतृत्वको टोली दिल्ली पठाउने निर्णय गरेको थियो ।
टोलीमा परराष्ट्र र कानून मन्त्रालय तथा विद्युत प्राधिकरणका अधिकारी संलग्न छन् । आजैबाट सुरु हुने वार्ता तीन दिनसम्म चल्नेछ । भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता ‘पिडीए’ सम्झौता गर्न पठाएको प्रस्ताव नेपाली पक्षले अस्वीकार गरेको थियो।
नेपालले भारतीय प्रस्ताव अस्वीकार गर्दै पीटीएमात्र गर्न मस्यौदा पठाएको थियो । नेपालले सन् २००४ मै पीटीए गर्न प्रस्ताव पठाएको थियो । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारत त्यसमा वार्ता गर्न तयार भएको हो ।
मोदीको नेपाल भ्रमणका क्रममा माथिल्लो कर्णालीको पीडीए र नेपालद्वारा प्रस्तावित पीटीएलाई ४५ दिनभित्र अन्तिम रूप दिने सहमति दुई देशबीच भएको थियो । भारतसँग पिटीए सम्झौता भए नेपालको जलविद्युतमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बाटो खुल्नेछ ।