काठमाण्डु, १८ भदौ– सरकार र मुख्य राजनीतिक दलहरुले मोहन वैद्य नेतृत्वको माओवादीसहित संविधानसभा बाहिरका शक्तिहरुलाई समेट्न
राजनीतिकसभाको अवधारणा लागू गर्ने भएका छन् ।
कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा–माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउनका लागि उसले राखेको राजनीतिक सभाको खाका बनाउन दलहरु औपचारिक छलफलमा जुटेका हुन् ।
सरकारमा सहभागी दल, प्रमुख विपक्षी एमाओवादी र नेकपा–माओवादीबीच मंगलबार भएको त्रिपक्षीय छलफलपछि उनीहरुले संविधानसभाबाहिरका शक्तिलाई समावेश गर्ने राजनीतिक खाका खोजी आगामी बैठकमा पेस गर्ने निर्णय गरेका छन् ।
बैठकको सुरुमै कांग्रेस र एमालेका नेताहरुले संविधान निर्माणको विषयमा संविधानसभाबाहिर सहमति गर्नु प्रकृयागत ढंगले गलत हुने भन्दै त्यसबारे गृहकार्य हुनुपर्ने बताएका थिए । आफूले राखेको प्रस्ताव अस्वीकार हुने देखेपछि नेकपा–माओवादीका नेताहरु केही आक्रोशित भएका थिए । तर, लगत्तै संविधानसभाको अधिकार कटौत नहुने गरी राजनीतिक भेला या सम्मेलनबाट पनि सहमति खोज्न सकिने धारणा राखेपछि छलफल सकरात्मक बनेको थियो ।
‘राजनीतिक सभा गर्ने कुरामा दलहरुबीच विवाद छैन्,’एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ,‘त्यसको कार्यविधि के हुने, को सहभागी हुनेबारे गृहकार्य गर्ने कुरा भयो ।’
कान्तिपुर दैनिकबाट