संविधानसभा सदस्य विदुर सापकोटाको निधन

काठमाण्डु टुडे २०८१ फागुन ८ गते १२:०६ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज विदुर सापकोटाको आज निधन भएको छ ।

अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ः ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।

तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा रहेका थिए ।

माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्जको भूमिकामा रहेका थिए । सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्रनम्बर ४ बाट विजयी भएका थिए ।

सापकोटाको शवलाई श्रदाञ्जलीका लागि बिहान १०ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यसपश्चात् पशुपति आर्यघाटमा दाहासंस्कार गरिने नेकपा (एकीकृत समाजवादी)ले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us