काठमाण्डू, २६ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन ।
आज (शनिबार) अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी समेत दिएका छन ।
उनले भने, ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नुभयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’ जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’ उनले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ कि ? भन्ने प्रश्न पनि गरे ।
नेपालले त्यसो भए सामना गर्न तयारी रहेको पनि बताएका छन । अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझावसमेत दिएका छन ।
उनले भने, ‘तपाईंहरुलाई संख्याको मात लागेको हो भने छिमेकी देशहरुको घटना सम्झिनुस् । चाहे त्यो बंगलादेश होस् चाहे त्यो श्रीलंका होस् । त्यसले कम्सेकम पाठ सिकाउनुपर्ने हो ।’