काठमाण्डू, २२ माघ– ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधले उग्र रुप लिएको छ । स्थानीय लिम्बू समुदाय र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै पछिल्लो केहि दिन यता निरन्तर प्रदर्शन गर्दै आएका छन ।
यही सिलसिलामा आज सोमबार काठमाण्डूको माइतीघरमा समेत विरोध प्रदर्शन गरिएको छ। चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागीहरूले गृहमन्त्रीको राजीनामासहित ६ बुँदे माग अघि सारेका छन्। उनीहरूले पाथीभरा क्षेत्र लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यसलाई जस्ताको तस्तै संरक्षण गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
आन्दोलनकारीहरूले जारी गरेको विज्ञप्तिमा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको माग गर्दै घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग राखिएको छ। दोषीमाथि कडा कारबाही हुनुपर्ने, मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरिनुपर्ने, र धार्मिक तथा सांस्कृतिक सम्पदामाथि अतिक्रमण बन्द गर्नुपर्ने उनीहरूको माग छ ।
समितिले माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्तालसहित देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि माग पूरा भएन भने अनिश्चितकालीन आमहड्ताल र लिम्बूवान क्षेत्रभर प्रदर्शनका कार्यक्रम अघि बढाइनेछ।’ गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा भएको झडपपछि आन्दोलन थप उग्र बनेको हो ।
सोही दिन प्रहरीले चलाएको गोली लागी मुक्कुमलुङ संरक्षणकर्ताहरू यामबहादुर लिम्बू, सगुन लावती, र धर्मान पालुङ्वा घाइते भएका थिए। उनीहरुको काठमाण्डूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। झडपपछि माघ १५ देखि मेची राजमार्ग, तमोर करिडोर, र तेह्रथुम हुँदै ताप्लेजुङ भित्रिने सबै नाका अवरुद्ध छन् ।
आन्दोलन थप सशक्त बनाउन माघ २० र २१ गते लिम्बूवान क्षेत्रका नौ जिल्लामा आमहड्तालको घोषणा गरिएको छ । काठमाण्डूको माइतीघरमा भएको प्रदर्शनमा आन्दोलनकारीहरूले सांकेतिक रूपमा सडक नाटक प्रदर्शन गर्दै मुक्कुमलुङ क्षेत्रको ‘अतिक्रमण’ को विरोध जनाएका थिए।
उनीहरूले ‘गोली खान तयार छौँ, तर केबलकार बन्न दिन्नौँ’ भन्ने नारासमेत लगाएका थिए। यसैबीच, केबलकार निर्माण कम्पनी र सरकारी पक्षले भने परियोजनालाई अगाडि बढाउने तयारी गरिरहेको छ ।