मुलुकका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको होः अर्थमन्त्री

काठमाण्डु टुडे २०८१ माघ २१ गते १२:५३ मा प्रकाशित

काठमाण्डू, २२ माघ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सरकार आफैं ढल्ने अभिव्यक्ति दिंदै आएका थिए । उनलाई जवाफ दिंदै एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो ।’

उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको पनि बताएका छन ।

अर्को प्रशंगमा उनले मुलुकका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको पनि बताएका छन । सामाजिक सञ्जाल विधेयकबारे पनि सरकार प्रेसस्वतन्त्रताविरुद्ध उभियो भन्ने भ्रम फैलाइएको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us