भरतपुरमा माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरिने

काठमाण्डु टुडे २०८१ माघ २० गते १७:४३ मा प्रकाशित

काठमाण्डू, २० माघ– चितवनको भरतपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप दिइने आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

यो अभियान माघ २२ देखि फागुन २ गतेसम्म हुने बताइएको छ । यस्तै सोही अवधिमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए । उनका अनुसार भरतपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो ।

यो खोप सुरक्षित र प्रभावकारी समेत भएको उनले बताएका छन । उनले भने, ‘हाल चीनमा तयार गरिएको सिकोलिन नाम एचपिभि खोप देशभरी नै लगाउन लागिएको छ, यो खोप एकदमै सुरक्षित तथा प्रभावकारी छ ।’

यस खोप एक डोज लगाए पुग्ने उनले बताए । झोलमा उपलब्ध हुने यस खोप पाखुराको माथिल्लो भागमा लगाइने छ । अभियान सफल कार्यान्वयनका लागि महानगरले यहाँका सबै विद्यालय र विद्यालयमा सकिएपछि अन्तिम दिनमा सम्बन्धित वडाका स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिनेछ ।

१९३ वटा खोप केन्द्र रहने अभियानमा २०१ जना स्वास्थ्यकर्मी तथा ४०२ जना स्वयंसेवक परिचालित हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us