उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

काठमाण्डु टुडे २०८१ माघ २० गते १६:४७ मा प्रकाशित

काठमाण्डू, २० माघ– मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष श्याम रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जिल्ला मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले आइतबार रौनियार पुर्पक्षको लागि कारागार चालन गर्न आदेश दिएका हुन । अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन ।

ठगी मुद्दामा रौनियार मुख्य अभियुक्ति रहेका थिए । पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि रौनियार अदालतमा सोमबार उपस्थित भएका थिए । सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो ।

पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी सोमबार कानुन व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका हुन् ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबीसहित २७ मङ्सिरमा मुद्दा दायर भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us