काठमाण्डू, २० माघ– जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । धनुषाको बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण र कुटपिट भएको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।
शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह लगायतले आक्रमण गरेका डिएसपी सिंहले जानकारी दिएका छन ।
घटनामा फेकु साहका तीन छोरामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।घटना पश्चात फेकुसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी सिंहले जानकारी दिएका छन ।
यादवमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब पाँच मिनेटसम्म उनलाई फलामका रडलगायतले आक्रमण गरिरहेको भिडियोमा देखिन्छ ।