०८४ अघि १५ औँ महाधिवेशन हुन्छ, कन्फ्युज नहुनुस्ः गगन थापा

काठमाण्डु टुडे २०८१ माघ १९ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, १९ माघ– कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको तिथि मितिबारे ‘कन्फ्युजन’ नहुन नेताकार्यकर्तालाई आग्रह गरेका छन । आज (शनिबार) कांग्रेसको काठमाण्डू महानगरपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

नेताकार्यकर्तालाई भ्रममा नहुन गगनले आग्रह गरेका हुन् । कांग्रेस महामन्त्री थापाले भने, ‘संविधानमै कुनै पनि पार्टीको एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएको छ, ‘त्यसैले २०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरीकन पाइँदै पाइँदैन ।’

त्यसैले त्यो भन्दा अघि जसरी पनि महाधिवेशन हुने उनले दाबी गरे । ‘त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नै पर्छ । अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावमा पार्टीको नेतृत्व गर्छ ।’

महाधिवेशन त्यसअघि कति छिटो गर्न सकिन्छ भन्ने विषयमा आवश्यक छलफल पनि भइरहेको उनले बताएका छन । पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्ने विषयमा नेताहरूका अनेक बहस चलिरहेका छन्। विशेष गरी पूर्व महामन्त्री डा. शशांक कोइराला ०८४ को निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने भनेर मुखरित भएर बोलिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us