ऐन महरको दाबीः मविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन

काठमाण्डु टुडे २०८१ माघ १० गते ९:१३ मा प्रकाशित

काठमाण्डू, १० माघ– एमाले केन्द्रीय सदस्य ऐन महरले आफूविरुद्ध पक्राउ पुर्जी जारी नभएको दाबी गरेका छन् ।

महरले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित काठमाण्डू प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयलाई समेत विपक्षी भनाई दायर तीनमध्ये दुई रिट उच्च अदालत पाटनले खारेज गरेको बताएका छन् । उच्च अदालत पाटनले एउटा उजुरी तामेलीमा राखेको उनले बताए ।

‘केही अनलाइन मिडियामा मेरोविरुद्ध उच्च अदालत पाटनद्वारा पक्राउ पुर्जी जारी भनेर भ्रामक समाचार सम्प्रेषण भएका रहेछन्’, महरले लेखेका छन्, ‘पहिलो कुरा कानून बमोजिम पक्राउ पुर्जी जारी गर्ने उच्च अदालतको अधिकारभित्र पर्दैन । त्यो अधिकार जिल्ला अदालतको हो ।’

उक्त तथ्यलाई बंग्याएर आफूकनुकुल समाचार सम्प्रेषण गरिएको भन्दै महरले आपत्ति जनाएका छन् । महरले सञ्चार माध्यममा आएका समाचारका कारण भ्रममा नपर्न शुभचिन्तक, आफन्त र सहयोगीहरुमा आग्रह गरेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासमा महरविरुद्ध दायर रिटमाथि बुधबार सुनुवाई भएको थियो । महरकी पूर्वप्रेमिका रस्मिलाकुमारी धामीले आफू महरबाट पटकपटक बलात्कृत भएको र न्यायका लागि अपिल गर्न खोज्दा प्रहरी र सरकारी वलिकले मुद्धा दायर गर्न अस्वीकार गरेको भन्दै उच्च अदालतमा रट दायर गरेकी थिइन् ।

आफूमाथि महरले पटकपटक यौन शोषण गरेको भन्दै धामी माइतीघर मण्डलामा अनसनसमेत बसेकी थिइन् । महरले सत्ताको प्रयोग गरी धामीलाई उल्टै प्रहरी लगाएर पक्राउ गरेका थिए ।

आफूविरुद्ध प्रहरी परिचालन गर्ने र विभिन्न प्रकारले दबाब दिन थालेपछि पीडित महिलाले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us