चितवन, ७ माघ– चितवनमा सवारी जाँचका क्रममा युवकमाथि कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरी सहायक निरीक्षक (असई) बुद्धीबहादुर घर्ती भुजेलले सवारी चाँजका भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा कुटपिट गरेका थिए । युवकले ‘माथिको पावर देखाइदिन्छु’, भनेपछि असई घर्तीले लात्तैलात्तीले हानेका थिए ।
चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले असई घर्तीलाई निलम्बन गरिएको जानकारी दिए । थप छानबिन गरी कारबाही अघि बढाइएको उनले बताए ।
असई घर्तीले युवकमाथि गत १५ पुसमा लात्तीले हिर्काएको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले आचरणविपरीत कार्य गरेको भन्दै निलम्बन गरेको हो ।
यसैबीच चितवन प्रहरीले घटना छानिबनका लागि डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।