कतार– कतारको एक कम्पनीमा कार्यरत २६ नेपाली कामदार अलपत्र परेका छन् ।
समूहमा अन्य २० जना भारतीय कामदारसमेत छन् । उनीहरू काम गर्ने कम्पनीले पाँच महिनादेखि तलबसमेत दिएको छैन ।
‘हामीले पाँच महिनादेखि तलब पाएका छैनौं,’ कञ्चनपुरका ४४ वर्षीय मानबहादुर सुनुवारले भने, ‘कम्पनीका मुख्य व्यक्तिहरू सम्पर्कमा छैनन् ।’
ती कामदार कतारको राजधानी दोहास्थित मदरकदिमको एउटा क्याम्पमा छन् । उनीहरू एक महिनादेखि कामसमेत छाडेर बसेका हुन् ।
ती कामदारहरू सेनटेक्स, द गार्णेन, भ्याक्सो, इम्पोलेस गरी चार कम्पनीमा काम गर्दै आएका थिए ।
उनीहरूलाई एउटै क्याम्पमा राखेर अरू कम्पनीका लागि सप्लाई गर्ने गरिन्थ्यो । ‘चारवटै कम्पनीका मुदिर ९म्यानेजर० एउटै हो, यी कम्पनी मुदिरको आफ्नै आफन्तहरूको नाममा चलाइएको छ।’
कम्पनीले उनीहरूलाई कानुनी रूपमा बस्नका लागि भिसासमेत लगाइदिएको छैन । ‘हाम्रो भिसा नवीकरणसमेत गरिदिएको छैन, कोही साथीहरूलाई आएदेखि नै गैरकानुनी हैसियतमा राखिएको छ,’ उनले भने, ‘बाहिर हिँड्डुल गर्नसमेत बञ्जित हुनुपरेको छ।’
उनीहरूले परिचयपत्र देखाउन नसक्दा प्रहरीले पक्राउ गरेर लैजाने गरेको बताए ।