उम्मेदवार फिर्ता गरेर ओलीले मनाङेलाई मन्त्री बनाएको रावलको आरोप

काठमाण्डु टुडे २०८१ पुष १७ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे उर्फ (राजीव गुरुङ)लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको आरोप लगाएका छन् ।

त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनको आरोप छ । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्नैप्रश्न गरेका छन् ।

उनले आफूलाई पार्टीमा रहँदा गरिएका व्यवहारहरू प्रतिशोधपूर्ण भएको गुनासो पनि गरेका छन् । ‘शंकर पोखरेललाई ०७८ साल वैशाखमा सेना परिचालन गरेर स्थायी कमिटी बैठकबाट मनाङमा पार्टीको उम्मेदवार बनाएका व्यक्तिलाई मनपरी किसिमले नाम फिर्ता गराएर दीपक मनाङे राजीव गुरुङलाई त्यहाँ निर्वाचन गराउने र पछि गण्डकी प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र ?’

रावलले प्रश्न गरेका छन् । साथै, उनले कोशी प्रदेशमा परमादेशको आधारमा सरकार बनाउन लगाएको पनि जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us