काठमाण्डु, १६ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर आफु कुदिरहेको बताएका छन् ।
आज मंगलबार गृह जिल्ला चितवनमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले देशमा स्थिरता कायम गर्न र देश विकासका लागि आफू जनतामाझ आएको पनि बताएका छन । अध्यक्ष प्रचण्डले भ्रष्टाचार, बेथिति, अराजकता फालेर मुलुकमा सामाजिक न्यायको झन्डा उठाउने आफ्नो प्रयासलाई एकथरीका मानिसले मन नपराएको पनि बताएका छन ।
अध्यक्ष प्रचण्डले भने, ‘मुलुक अप्ठ्यारो स्थितिमा थियो । मुलुकको आर्थिक अवस्थालाई क्रमशः सहज वातावरण बनाउन धेरै मेहेनत पनि गरियो । बिस्तारै देशको आर्थिक अवस्था लयमा पनि फर्किँदै थियो, ‘छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित बनाउन रेकर्डहरू पनि बनाएकै थिएँ ।
तर, एक थरी मान्छेहरूलाई यो मन परेन ।’नेपालको छवि उज्ज्वल बनाउन आफूले खेलेको भूमिका कतिपय मानिसलाई मन नपरेको प्रचण्डको गुनासो थियो ।
‘आफूले सञ्चालन गरेको सुशासनको अभियान, सामाजिक न्यायको अभयिान, अन्तर्राष्टिय स्तरमा नेपालको छवि उज्ज्वल बनाउन खेलेको भूमिका मन परेन’ उनले भने, ‘म अहिले जनताको बीचमा छु । म खुसी नै छु ।
फेरि एउटा सपना बोकेर यो देशमा स्थिरता र विकास, समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेको छु ।’