काठमाण्डु, १६ पुस– नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण सफल ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । नेपालमा हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन ।
अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेलगत्तै वंशानुगत परीक्षण सम्भव भएको पनि स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशानुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिएका छन । उनले भने, ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो, अब देशबाहिर नमुना पठाउनु पर्दैन ।’
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।
बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुःल्क पनि बढी तिर्नु पर्ने समस्या कम हुने भट्टले जानकारी दिए । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमुना परीक्षण नियमित थप गर्ने भएको छ ।