काठमाण्डु, १६ पुस– नेपाली सेनाको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । आज बिहान उपमहानगरपालिका कार्यालय अगाडि सहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई प्रप्त भएको थियो ।
सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो । उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो ।
राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिएका छन । उनले शंकास्पद वस्तु राख्नेको खोजी कार्य भइरहेको पनि उनले जानकारी दिएका छन ।
मोरङ र सुनसरीको सीमा रहेको बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शंकास्पद भनिएको बोरामा पुराना कपडा मात्र भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।