काठमाण्डु, १६ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताएका छन ।
आज (मंगलबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले भने, ‘पूर्वका होउन् वा पश्चिमका होउन्, विभिन्न चाहनाहरु होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं ।’
कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि देउवाले बताएका छन । सबै नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन नेपाली कांग्रेसले मात्रै सक्ने भन्दै उनले त्यसका लागि सबैको पहल आवश्यक रहेको पनि बताएका छन ।