काठमाण्डु, १५ पुस– एमाले महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन । आज (सोमबार) एमाले दाङ प्रचार तथा प्रसार विभागले घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन ।
एमाले महासचिव पोखरेलले अस्थीरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको भन्दै दुई दललाई असफल हुने छुट नरहेको बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको पनि उनले बताएका छन ।
उनले अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको बताएका छन ।
महासचिव पोखरलले विधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने पनि बताएका छन । उनले परिस्थिति परिपक्व नहुँदा सम्म संविधान संशोधनको काम अघि नबढ्ने स्पष्ट पारे ।
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए ।
पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन नमिल्ने उल्लेख गरे । रास्वपा पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको उनले बताए ।