काठमाण्डु, ९ पुस– राप्रपाले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख गरीएको छ ।
कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।’ साथै पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नहुने राप्रपाले कार्यविधिमा समेटेको छ ।
उक्त कार्यविधिमार्फत पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पुर्याउने विषय पनि समेटेर सामाजिक सञ्जाल कार्यविधि ल्याइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरुपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको उनले जानकारी दिएका छन ।