
काठमाण्डु, १२ भदौ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ११.७४ अङ्कले उकालो लागेको छ ।
हिजो बुधबार ३८ अङ्कले बढेको सेयर बजार अघिल्लो दिन मङ्गलबार २५.९८ अङ्कले तल झरेको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक १.२२ प्रतिशतले बढेर ९७२.१७ विन्दुमा कायम भएको छ । बजार खुलेको केही समय उकालो लाग्न सुरु गरेको सेयर ९८० भन्दा माथि पुगेको थियो ।
त्यसैगरी, सेयर सङ्ख्याको कारोबार वृद्धि भएपनि कारोबार रकममा भने कमी आएको छ । आज नेप्सेमा रु ६१ हजार १२ लाख ७३ हजार ४४७ बराबरको १५ लाख ४५ हजार ५३४ सेयर कारोबार भएका छन् । नेप्सेमा हिजो रु ६१ करोड ७४ लाख ११ हजार ९२१ बराबरको १३ लाख २१ हजार ५०८ सेयर कारोबार भएका थिए ।
नेप्सेमा आज सबै समूहको परिसूचक सकारात्मक रहेपनि सबैभन्दा बढी बिमा कम्पनीका सेयर मूल्यमा ११९.९७ अङ्कले बढेको छ । यसपछि जलविद्युत् कम्पनीहरुको सेयरमा ८८.५ अङ्कले बढेको छ ।
त्यसैगरी, हिजो बैंकिङ समूह परिसूचकमा ३६.६६ अङ्कले बढेको परिसूचक आज ४.९६ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लगानीकर्तालाई भ्रम पर्दा नेप्सेमा नकारात्मक प्रभाव परेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए ।
उनले राष्ट्र बैंकले सेयर लगानीकर्तामा देखिएको अन्योलतालाई स्पष्ट पारेपछि बजारले सकारात्मक गति लिएकोे प्रतिक्रिया दिए ।