काठमाण्डु, १९ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
भोली बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख समेत रहेका अमिक शेरचनलाई पनि माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए। उनी कात्तिक २६ गतेदेखि नै नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।
कांग्रेस–एमालेको पछिल्लो गठबन्धन बनेपछि प्रदेश प्रमुखबाट हटेका शेरचनलाई पनि उपाध्यक्ष बनाउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
०७२ सालमा उपराष्ट्रपति बनेका पासाङ ०७९ सम्म पदमा कायम रहेका थिए । पुराना कम्युनिस्ट नेता शेरचन ०७८ सालमा लुम्बिनीको प्रदेश प्रमुख भएका थिए । २२ जना पदाधिकारी रहेको माओवादीमा अहिले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्ष रहेका छन् ।
पदाधिकारी बैठक बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बस्दै छ ।