शंकर पोखरेल भन्छन्ः एमाले र माओवादीको जनमत राम्रो देखियो, काँग्रेसको घट्यो

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते २३:०७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर- एमाले महासचिव शंकर पोखरेलले आफ्नो दल स्थानीय तहको उपनिर्वाचनमा तेश्रो भएको भन्ने प्रचाार भइरहेको भन्दै खण्डन गरेका छन् ।
निर्वाचन परिणामको सामान्य विश्लेषण गर्दा एमाले तेश्रो भएको जस्तो देखिए पनि चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्दा त्यो भन्दा भिन्न निस्कर्ष देखिने दाबी उनको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले उपचुनाव भएका ४४ सिटमध्ये नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट, माओवादी केन्द्रले जितेका ८ सिट र एमालेले जितेका ७ सिटमा मात्र उपचुनाव भएकाले परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्ने उल्लेख गरेका हन् ।
कीर्तिपुरको मेयरसहित १६ वडाध्यक्ष जितेको काँग्रेसले २ पालिका अध्यक्ष र ३ उपप्रमुखरउपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको, माओवादी केन्द्रले १ अध्यक्ष, १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको तथा एमालेले जितेका ७ वडाध्यक्षका ठाउँमा एक अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको उल्लेख गरे । एमालेका गुमेका २ वडाध्यक्षका ठाउँमा १ अध्यक्ष र २ उपाध्यक्षसहित ३ पदाधिकारी जित्न सफल भएको तर्क पोखरेलको छ ।

यद्यपि माओवादीको जितमा विगतको चुनावमा काँग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल भएको तर कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिने उनले बताए ।

एमालेको जनमत नघटेको भए पनि पार्टीका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन नसकेको उनले स्वीकार गरे । काठमाण्डुको निर्वाचन परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको भए पनि त्यो पुरा हुन नसकेको उनको भनाइ छ । शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको नदेखिएको भने पोखरेलले स्वीकार गरे ।
पछिल्लो समयमा सामाजिक स१जालमा एमाले र त्यसको नेतृत्वविरुद्ध गरिएको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको निस्कर्ष उनको छ ।

यसपटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक रहेको बताए । एमालेले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सकेको,माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुगेको र कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुगेबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिने निस्कर्ष पोखरेलको छ ।

उपनिर्वाचनले जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश दिएको पनि पोखरेलले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us