एजेन्सी -दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आपतकालीन सैनिक शासन घोषणा गरेका छन् ।
मंगलबार उनले देशमा सैनिक शासनको घोषणा गरेका हुन् । दक्षिण कोरियाली संसदमा बजेटसम्बन्धी विधेयकलाई लिएर तनाब जारी थियो ।
कम्युनिस्ट शक्तिबाट उत्पन्न सम्भावित खतरा रोक्न सैनिक शासन लगाउनुपरेको राष्ट्रपति युनले दाबी गरेका छन् ।
राष्ट्रिय टेलिभिनमार्फत सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाका कम्युनिस्ट शक्तिबाट हुने खतराबाट दक्षिण कोरियाको स्वतन्त्र लोकतान्त्रिक व्यवस्था जोगाउन र राज्यविरोधी तत्त्वलाई खत्तम पार्न भन्दै आपतकालीन सैनिक शासन घोषणा गरे ।
उनले विपक्षी दलमाथि कटाक्ष जनताको जीवनलाई बेवास्ता गर्दै आफ्नो नेतृत्वलाई जोगाउन शासन अवरुद्ध पारेको आरोप लगाएका छन् ।
युनले आफ्नो दल पीपल्स पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच आउँदो वर्षको बजेट विधेयकलाई लिएर जारी विवादका कारण यो कदम उठाएको प्रष्टीकरण दिए ।
विपक्षी सांसदहरूले गत साता संसदीय समितिमा प्रमुख खर्च कटौतीसहितको बजेट योजना स्वीकृत गरेका थिए ।
त्यसलाई राष्ट्रपति युनले व्यवस्थापिका अधिनायकवादको अखडा बनाउन खोजिएको तथा न्यायालय र कार्यपालिकालाई पंगु बनाउँदै लोकतान्त्रिक प्रणालीलाई उल्ट्याउन खोजिएको आक्षेप विपक्षीमाथि लगाए ।
युनले विपक्षी सांसदहरूले सार्वजनिक सुरक्षा र लागूऔषध नियन्त्रणजस्ता महत्त्वपूर्ण बजेटमा कटौती गरी देशलाई लागूऔषध अपराधको केन्द्र र सार्वजनिक सुरक्षा संकटतर्फ धकेल्ने चेष्टा गरेक बताए ।
विपक्षीलाई राज्यविरोधी शक्तिको संज्ञा दिँदै उनले आफ्नो कदम अवश्यम्भावी भएको बताएका छन् । राज्यविरोधी शक्तिहरूलाई चाँडै हटाएर देशलाई सामान्य स्थितिमा फर्काउने घोषणा उनले गरे । विपक्षी दलको बहुमत रहेको संसदले उक्त निर्णयलाई कसरी लिन्छ भन्ने हेर्न बाँकी छ ।