काठमाण्डु, १८ मंसिर– भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबिच द्विपक्षीय हितका विषयमा नयाँदिल्लीमा भेटवार्ता गरेका छन ।
उनीहरुबीच आज मंगलबार भेटवार्ता भएकबा भएको हो । भारतको नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणका लागि आग्रह गरेका छन ।
नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवाहन सन्धि संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहेका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिएका छन ।
यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको पनि उनले जानकारी दिएका छन ।
त्यस अवसरमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह समेत गरेका छन ।