हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अभियान जनताले अनुमोदन गरे: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १४:५९ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न स्थानमा बनेका गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई आफ्नो पार्टीले उच्च सम्मान गर्ने बताएका छन ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको पनि बताएका छन । एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रूपमा लिएको थियो ।

खास गरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ । निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’

यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिने प्रचण्डको भनाई छ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने समेत उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

अध्यक्ष प्रचण्डले भनेका छन, ‘नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्याउने महत्त्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ ।

हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ ।’

प्रचण्डले स्थानीय तह उपनिर्वाचन ०८१ मा माओवादी पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई ज्ञापन पनि गरेका छन् ।

उनले भनेका छन्, ‘निर्वाचनमा अहोरात्र खट्ने हाम्रो पार्टीका नेता कार्यकर्ता, हाम्रो पार्टीलाई माया गरी जनमत निर्माणमा योगदान गर्ने सम्पूर्ण तह र तप्काका जनसमुदाय तथा निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us