काठमाण्डु, १६ मंसिर– सत्तारुढ एमाले महासचिव शंकर पोखरेलले चीनको महत्वाकांक्षी विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’
(बीआरआई) बारे सत्तारुढ काँग्रेससँगको सहमति जुटेकामा खुसी व्यक्त गरेका छन् ।
पोखरेलले दुई प्रमुख सत्ता घटकबीचको सहमतिसँगै नेपालको विकासमा चिनियाँ सहयोगले तीव्रता पाउने बताए ।
‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउनेछ’, पोखरेलले भनेका छन् ।
दुई दलका शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको छलफलमा बीआरआई ‘फ्रेम वर्क’ मा सहमति भएको थियो ।
विगतमा नेपालले एमओयूमा हस्ताक्षर गरे पनि बीआरआई सो अन्तर्गतका परियोजनाहरू अघि बढ्न नसकेको भन्दै पोखरेलले भनेका छन्, ‘बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ,’ पोखरेलले भनेका छन् ।
बीआरआईबारे प्रमुख दलहरूबी भएको सहमतिले अन्तर्राष्ट्रिय मामिलाका साझा राष्ट्रिय दृष्टिकोण तयार गर्न सुखद प्रक्रिया आरम्भ भएको रुपमा लिन सकिने उनको भनाइ छ ।
गत असार अन्तिममा प्रधानमन्त्री नियुक्त एमाले अध्यक्ष केपी ओली पहिलो विदेश भ्रमणका रुपमा १७ असारमा चीन जाँदैछन् ।