काठमाण्डु, १५ मंसिर– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको वर्तमान सत्ता गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेकोले अस्थिरताको खेती गर्ने र मुलुकमा राजनीतिक अस्थिरता बनाइरहनेहरुलाई छटपटी भएको बताएका छन ।
आज (शनिबार) रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले कतिपय व्यक्तिहरु पर्दा भित्र र बाहिरबाट समेत सरकारकाविरुद्ध लागिरहेको उल्लेख गर्दै यो गठबन्धन ०८४ सालसम्म नै रहने भएकोले कुनैपनि चलखेलमा नलाग्न चेतावनी समेत दिएका छन ।
उनले भने, ‘कतिपय व्यक्तिहरु पर्दा भित्र र पर्दा बाहिरबाट सरकारका विरुद्धमा लागेका छन् तर, अहिलेको समिकरण ०८४ सालसम्म नै रहन्छ ।’ अर्थमन्त्री पौडेलले ०८४ सालको निर्वाचन सम्म गठबन्धन नफेरिने भन्दै सरकार परिवर्तन हुँदै छ भनेर भ्रम फैलाउने र त्यसैमा नरमाउन आग्रह गरे ।
मुलुकलाई अस्थिरताबाट मुक्त बनाउनकै लागि अहिलेको गठबन्धन बनेको र स्थिरताको लागि अर्को विकल्प पनि नभएको बताएका छन । उनले भने, ‘राजनीतिक अस्थिरतालाई व्यवस्थापन गर्न नै धेरै समय खर्चिरहनुपर्ने समस्या थियो।
०७९ सालमा निर्वाचित संसदले यो भन्दा राम्रो र बलियो अर्को कुनै सरकार दिन सक्दैनथ्यो, नीतिमा र नेतृत्वमा स्थिरताको लागि मुख्य दुई ठूला पार्टीको गठबन्धन बनेको हो ।’ अर्थमन्त्री पौडेलले सरकार गठन हुँदा अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै सरकार सरकार गठन भएको चार महिनामै देशको अर्थतन्त्र सुधारको बाटोमा गएको पनि बताएका छन ।
अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्र कहालिलाग्दो अवस्थामा थियो, जताततै समस्याहरुको चाङ थियो। संचित कोष २ खर्ब भन्दा बढि ऋणात्मक थियो भने भुक्तानी गर्ने बिलहरुको चाङ थियो,उनले भने। सरकार गठन भएपछिको पहिलो चारमहिनामै १७–१८ प्रतिशत राजश्व वृद्धि भएको र सबैप्रकारका चुहावट नियन्त्रण गर्ने अभियानमा सरकार लागिपरेको पनि बताएका छन ।
आर्थिक क्षेत्रको सुधारको लागि सरकारले उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको र सोहि आयोग मार्फत एकिकृत र व्यवस्थीत रुपमा आर्थिक क्षेत्रका विज्ञहरु र निजी क्षेत्रको सुझाव लिएर कार्यान्वयन गर्दै जाने बताए।