काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन ।
आज (शुक्रबार) लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताउँदै उनले त्यसैबाट पनि समृद्धि हासिल हुने बताएका छन प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्व शान्तिबाट मात्रै हुने बताए ।
यसैका आधारमा आफूहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत बताएका छन । प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूको आस्थाको केन्द्रको रूपमा लुम्बिनीलाई विकास गरिने बताएका छन ।
लुम्बिनीमा मानव जाति मात्रै नभई सबै प्राणीहरू समेत रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा उनले जोड दिए । उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यही बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको पनि बताएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘५ हजार मानिस एकैचोटी बस्न मिल्ने गरी सभाहल बनाइएको छ,’ उनले भने, ‘लुम्बिनीलाई मानिसको मात्रै होइन, चराचुरुङ्गी किराफट्याङ्ग्राले पनि सम्झिउन् भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं ।’
प्रधानमन्त्री ओलीले लुम्बिनी विश्व विद्यालयले बौद्ध दर्शन, शान्ति र विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षाका लागि काम गर्ने समेत बताएका छन ।