काठमाण्डु, १४ मंसिर– रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको छ ।
आज (शुक्रबार) काठमाण्डुबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटनामा परेको रामेछाप प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
सुमो झण्डै पाँच सय मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।